
काठमाडौं, साउन १२ । प्रहरीले काठमाडौंमा सवारी–साधनभित्रको सामान चोरी गर्दै हिँड्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले झापाका ४८ वर्षीय शोभित कार्कीलाई कार, स्कुटी र मोटरसाइकलका ४२ ओटा नक्कली चाबीसहित आइतबार बिहान नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
पछिल्लो समय नयाँबानेश्वरको आन्तरिक राजश्व कार्यालयअगाडि एक स्कुटीको डिकीबाट पैसा चोरी भएको उजुरी परेपछि ‘सीसीटीभी फुटेज’का आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले बताउनुभयो ।
कार्की चोरीका लागि नै झापाबाट काठमाडौं आउने र चोरी गरिसकेपछि पुनः झापा नै फर्कने गरेको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विगत २० वर्षदेखि चोरीमा संलग्न रहँदै आएका कार्की २०५६ सालमा पनि चोरी मुद्दामा साढे दुई वर्ष जेल सजाय भुक्तान गरिसकेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्