
काठमाडौं, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै युवाहरुले गरेको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ ।
काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुसँग सोमबार भेट गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले युवाहरुले कोभिड नियन्त्रणका लागि राखेका मागप्रति कांग्रेसको समर्थन रहेको जनाउँदै सत्याग्रहमा ऐक्यबद्धता जनाउनुभएको हो ।
प्रवक्ता शर्माले अघिल्लोपटक अनशन बसेको बेला इनफ इज इनफ समूहसँग सरकारले गरेका सम्झौताको अक्षरशः कार्यान्वयन गरी नागरिकको जीवनरक्षा गर्न सरकारसँग माग गर्नुभयो ।
प्रवक्ता शर्माले कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले ‘आरडीटी’लाई खारेज गरी ‘पीसीआर’ प्रविधिबाट परीक्षण सुरु गर्न सरकारलाई बारम्बार दबाब दिएपनि सरकारले बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।
यसैबीच, राष्ट्रिय मानवअधिकार आयोग र विभिन्न संघ–संस्थाहरुले अनशनरत् युवाहरुको माग सम्बोधन गरी उनीहरुको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गरी पीसीआर परीक्षण गर्न माग गर्दै इनफ इज इनफ समूहका युवाहरु विगत १० दिनदेखि सत्याग्रह बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्