
काठमाडौं, साउन १३ । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापासहित राप्रपाका २१ जना केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित कार्याक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरुमध्ये थापासहित १४ जनालाई औपचारिकरुपमा कांग्रेस प्रवेश गराइ स्वागत गर्नुभयो ।
नवआगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै देउवाले लोकतान्त्रिक शक्तिहरुकोबीचमा एकता भएमात्र कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न सकिने बताउनुभयो ।
उहाँले अधिनायकवादीहरुबाट लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भइरहेको समयमा लामो संघर्षपछि आएको लोकतान्त्रिक व्यवस्थालाई बचाउन लोकतान्त्रिक चरित्र भएका संस्थाहरु एक ठाउँमा उभिनुको विकल्प नभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न थापाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सहमहामन्त्री पदसहित कांग्रेस प्रवेश गर्नुभएका थापाले आफू पार्टीमा भाग खोज्न नभइ लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न होमिएर कांग्रेसलाई साथ दिन आएको बताउनुभयो ।
थापाले लोकतान्त्रिक पद्धतिमा थप ऊर्जा थप्ने जिम्मेवारीसहित कांग्रेसमा भएको प्रवेशले अत्यन्तै हर्ष लागेको धारणा व्यक्त गर्नुभयो ।
कांग्रेस प्रवेश गरेका वृजलाल यादवले देशमा शान्ति र संविधान जारी गर्ने अभिभारा लिएको कांग्रेसले देशलाई निकास र विकास दिने भएकाले पार्टी प्रवेश गरेको बताउनुभयो ।
राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आउनुभएका थापासहित ३१ नेताले शनिबार संयुक्तरूपमा राप्रपा परित्याग गरेका थिए ।
थापा पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।
थापासँगै राप्रपा केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत पनि कांग्रेस प्रवेश गरेका छन् ।
अन्य नवप्रवेशीहरुलाई के पद दिने भन्ने टुंगो लागिनसकेको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्