
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, साउन १३ । परम्परागत विधिहरू बेवास्ता गर्दै काठमाडौंको रानीपोखरीमा डिप बोरिङ गरेर पानी नभर्न अभियन्ताहरूले जोड दिएका छन् ।
परम्परागत विधिबाटै पानी भर्न सकिने अवस्था हुँदा–हुँदै जस लिने कामका लागिमात्र यस्तो काम नगर्न उनीहरुले सचेत गराएका छन् ।
भूमिगत पानीको स्रोतमा दीर्घकालीन नकारात्मक असर पुग्ने काम गरे संघर्ष नै गर्ने उनीहरुको चेतवानी छ ।
डिप बोरिङ खनेर न्हुँ पुखु अर्थात् रानीपोखरीमा पानी भर्ने काम भइरहेको हो । ७२ सालको महाभूकम्पपछि विवादै–विवादकाबीच पुनःनिर्माण भइरहेको रानीपोखरी अहिले फेरि विवादमा आएको छ ।
प्राकृतिक पानीको स्रोतबाट पोखरीमा पानी भर्न सम्भव भएको अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीभित्र दुईओटा २६० मिटरभन्दा गहिरो डिप बोरिङ गरेर पानी भर्न लागेको हो ।
बालगोपालेश्वर मन्दिर पनि राजा प्रताप मल्ल पालाको शिखर (ग्रन्थकूट) शैलीमा बन्दैछ भने पोखरी बनाउने काम लगभग सकिएको अवस्थामा छ ।
करिब ६० रोपनीभन्दा बढी क्षेत्रफलको पोखरीमा पानी भर्ने काम डिप बोरिङ गरेर गर्न थालेपछि स्थानीय र अभियन्ताहरुले विरोध गरेका हुन् ।
विज्ञहरुलेसमेत प्राकृतिक पानीको स्रोतबाटै पोखरीमा पानी भर्न जोड दिएका छन् ।
तर, सरकारी नीति र पुरातात्विक मान्यताविपरीत स्वयं सरकारी निकाय मातहतको प्राधिकरणले नै डिप बोरिङ गरिरहेकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।
स्थानीय बासिन्दा गणपतिलाल श्रेष्ठ पुर्खाको ज्ञान र प्रविधि हुँदा–हुँदै पनि डिप बोरिङ गरेर जमिनमुनिको पानी नाश गर्नु उचित नहुने बताउनुहुन्छ ।
पाँच फिट पानी भर्न तीन करोड लिटरभन्दा बढी पानी चाहिन्छ । यस्तो अवस्थामा जमिनमुनिको भूमिगत पानीको स्रोतमा गम्भीर असर पर्ने उहाँको भनाइ छ ।
सम्पदाविद् र भूमिगत जलस्रोतविद्हरूलेसमेत डिप बोरिङ उपत्यकाको लागि खतरनाक भएको भन्दै भूमिगत पानीलाई बचाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
आउँदो तिहारसम्म पोखरी पुनःनिर्माण सम्पन्न गर्न प्राधिकरणले हतारमा ‘लास्ट रिजोर्ट’ भन्दै डिप बोरिङ गर्न खोजेको अभियन्ता आलोकसिद्धि तुलाधर बताउनुहुन्छ । यो गलत नजिर हुने उहाँको भनाइ छ ।
कानुन व्यवसायी सञ्जय अधिकारी यो कदम नरोके कानुनी उपचार खोज्ने बताउनुहुन्छ ।
पोखरीमा रहेका ढुंगे अभिलेखमा समेत रानीपोखरीमा पानी भर्ने चारओटा स्रोत रहेको उल्लेख छ ।
पोखरीको उतर–पूर्वी कुनामा पानी भित्र्याउने स्रोतको दुईओटा डुँड रहेको थियो । दक्षिण–पूर्वी कुनामा बढी भएको पानी बाहिर पठाउने स्रोतसमेत रहेको छ । तर, कंक्रिट संरचनाले यो स्रोत नष्ट गरेको छ ।
साथै, पहिलो स्रोतमा रानीपोखरी उत्तरतिरको ‘तेतनढोका बाहिरको प्रणाली’ पर्छ ।
दोस्रो स्रोतमा पूर्वको ‘उपाध्याय प्रणाली’ पर्छ । दक्षिण दिशामा टुँडिखेलतर्फ पर्ने कुलो रहेको छ । पश्चिममा असन प्रणाली, भोटाहिति रहेको छ ।
तसर्थ, पानी आपूर्ति प्रणालीमा परम्परागत विधि हुँदा–हुँदै डिप बोरिङ कुनैपनि हालतमा विकल्प हुन सक्दैन । रानीपोखरी प्राचीन काठमाडौंको ‘सिरान पोखरी’ हो । त्यसैले यसको प्राचीनतालाई बचाउनु नै अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्