
-केदार कटुवाल/ईमेज
उदयपुर । पछिल्लो समय गाउँ बस्तीमा सडक निर्माणसंगै मौलिक पाटी–पौवा र चौतारा भत्किन थालेका छन ।
आधुनिक पक्की सडक र यातायातको बिस्तारसंगै पाटी–पौवा र चौतारा बिनास हुँदै गएका हुन ।
परम्परागत मौलिक चौतारा पाटीपौवा मासेर तडक भडकका साथ फलामे डण्डी , सिमेण्ट कंक्रिट प्रयोग गर्दै पार्क बन्न थालेका हुन ।
त्यसैको एउटा उदाहरण बनेको छ बेलका नगरपालिका–४ को पुरानो र ऐतिहासिक बजार ।
त्यहाँको लाल हाटको चौतारो, जहाँ करिब दुई सय मानिस बसेर समाजका वहस चलाउँथे । समुदायका झैझगडा हुँदा पनि भद्रभलाद्मीहरु बसेर कचहरी, छलफल र निर्णयमा पुग्ने गर्थे ।
तर यतिबेला किसान, मजदुरलगायतका आमा नागरिकहरुले सुस्केरा लगाउने र बटुवाहरु बिसाउने उक्त चौताराहरु मासिदै गएका हुन ।
लालहाट उदयपुर जिल्लाको सबैभन्दा पुरानो हाट हो । राणा शासनका बेला १९७८ तिर सप्तरीको फत्तेपुरमा त्रियुगा नदीलाई मुहान बनाइ निर्माण गरिएको चन्द्र नहरको निर्माणमा चन्द्रशम्सेर जबराले अनुगमन निरिक्षण गर्दा बेलका जंगलमा शिकार खेल्दै लालहाटलाई बासस्थल बनाएको इतिहास छ ।
त्यसपछि उक्त ठाउमा मासिक रुपमा औसीका दिन हाटको थालनी भएको थियो । पूर्णिमाका दिनमा पनि हाट लाग्न थालेपछि मासिक दुई दिन र पछिल्लो समय मंगलबार हाट लाग्न थालेको थियो । त्यसैले यो स्थान धेरै उदयपुरबासीको जक्सन बनिरहेको हो ।
मदन भण्डारी लोक मार्गको चतरा बसाहा खण्डमा पर्ने यो स्थान लाल सिसुवाबाट परिचित छ ।
अहिले यहाँ लालगेडी पार्क निर्माणका लागि करिब २० लाख रकम नगरपालिकाले बिनियोजना गरेको पार्क उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र राइले बताए ।
मौलिक र परम्परागत शैलिका पौवा–पाटी चौतारालाई संरक्षण गरिनु पर्नेमा उल्टै बिनास गरिएको छ ।
जसका कारण पुराना पहिचान र चिनारी संकटमा पर्दै गएका हुन । बुढापाका बसेर जीवनका सुख–दुःख साटासाट गर्ने ठाउँ मासिएकोमा स्थानीय बुढापाकाको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्