
काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको पीडामा परेका बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा थोरै भएपनि राहत मिलेको छ ।
मुम्बइको नानावती अस्पतालमा उपचार गराइरहेका अमिताभका बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही राहत मिलेको हो ।
बुहारी र नातिनीको डिस्चार्ज भएपछि अमिताभले आँशु थाम्न नसकेको जनाएका छन् ।
बुहारी र नातिनी घर फर्किएको जानकारी गराउँदै अमिताभले ट्वीटमा लेखेका छन्– ‘सानी नातिनी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँशु रोक्न सकिनँ, प्रभु तिम्रो कृपा अपार, अपरम्पार छ,।’
ऐश्वर्या १० दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तर उनका पति अभिषेक र ससूरा अमिताभ अस्पतालमै उपचाररत छन् ।
ऐश्वर्या र छोरी आराध्या अब घरमै स्वास्थ्य निगरानीमा बस्नेछन् । अमिताभ र अभिषेक बच्चन भने केही समय अस्पतालमै रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्