
काठमाडौं, साउन १४ । रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच ‘लकडाउन’ अवधिमा श्रमिकहरुको तलब भुक्तानी गर्नेबारे सहमति भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल नेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेड युनियन महासंघहरुबीच लकडाउन अवधिको तलब भुक्तानी गर्ने सहमति भएको हो ।
रोगजारदाता परिषद्का सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालकाअनुसार चैत महिनाको पूरै तलब दिने तथा वैशाख महिनाका लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ ।
यस्तै, जेठ महिनाको हकमा लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ ।
संयुक्त ट्रेड समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कुनैपनि श्रमिकलाई लकडाउनको बहानामा कामबाट ननिकाल्ने र पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझादारी भएको बताउनुभयो ।
काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको उहाँले बताउनुभयो ।
यसैगरी, लकडाउनको अवधिमा बन्द रहेका उद्योग सञ्चालन गर्नेक्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ ।
उद्योग–व्यवसायको प्रकृति र अवस्थाअनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउनेलगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सम्बन्धित उद्योग प्रतिठानका रोजगारदाता र प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुले सहमति गर्ने समझदारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्