१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणको उच्च जोखिममा अब काठमाडौं


13
Shares

coronavirus

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज)

काठमाडौं, साउन १४ । ‘लकडाउन’ अन्त्य भएसँगै काठमाडौंको दैनिकी पूर्ववतरुपमा फर्कंदै गएको छ ।

सहर–बजार खुलेका छन् भने सार्वजनिक यातायात सञ्चालनमा आएपछि आउजाउको चाप पनि बढिरहेको छ ।

सहर यो गतिमा चलायमान भइरहँदा यसको प्रत्यक्ष असर भने कोरोना महामारीमा देखिएको छ ।

केही दिनयताको तथ्यांक हेर्ने हो भने पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

तर, संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सुरक्षा सावधानी अपनाउनेतर्फ भने सबै लापरवाहजस्तै देखिन्छन् ।

लकडाउन खुलेसँगै बढ्दै गएको सवारी चाप र भिडभाडका कारण काठमाडौं उपत्यका कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहने भन्दै विज्ञहरुले सचेत गराउँदै आएका थिए ।

उपत्यकामा लकडाउनको समयमा नै काठमाडौं प्रवेश गर्नेक्रम नरोकिँदा संक्रमित पनि थपिरहेका थिए ।

तर, केही दिनयता भने उपत्यकाका विभिन्न क्षेत्रमा संक्रमित बढ्दो संख्यामा थपिँदै गएका छन् । मंगलबारमात्रै उपत्यकामा ५३ जनामा संक्रमण देखियो । तीमध्ये ४८ जना काठमाडौंका थिए ।

संक्रमितको यो संख्याले घना आवादी भएको राजधानी सहर अब संक्रमणको उच्च जोखिम बन्ने खतरा बढेको देखिएको छ ।

संक्रमितको संख्या थपिँदै जाने तर स्वास्थ्य सुरक्षाका उपायहरु प्रयोगमा सावधानी नअपनाउँदा संक्रमणको भयावह अवस्था आउनसक्ने स्वास्थ्य मन्त्रालयले नै जनाएको छ ।

मन्त्रालयले संक्रमितको संख्या बढी देखिएका जिल्लाहरुमा लकडाउनको ‘मोडालिटी’ परिवर्तन भने गर्नु नपर्ने जनाएको छ ।

यसले पनि उपत्यकामा तत्काल संक्रमण नियन्त्रणका प्रभावकारी उपाय अपनाउनेभन्दा पनि जे भइरहेको छ, त्यसलाई नै निरन्तरता दिने पक्षमा सरकार देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनहुँ ८ देखि १० प्रतिशत व्यक्तिमा देखिएको संक्रमण दर कम भएर हाल २ देखि ४ प्रतिशतमा झरेकाले तुरुन्तै लकडाउनको मोडालिटी परिवर्तन गर्नु नपर्ने बताउनुहुन्छ ।

उपत्यकामा पुष्टि भएका धेरैजसो संक्रमित बाहिरी जिल्लाबाट आएका मानिसहरु छन् ।

भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक सवारी–साधन सञ्चालनमा आएसँगै उपत्यका कोरोना संक्रमणको कत्तिको जोखिममा रहन्छ, सहजै अनुमान लगाउन सकिन्छ ।

प्रवक्ता डा. गौतमले सर्वसाधारणले सुरक्षा मापदण्ड पालन नगर्ने अनि संक्रमित बढेमा सरकारले केही गरेन भनेर आलोचनामात्र हुने गरेको भन्दै आक्रोश पोख्नुहुन्छ ।

मन्त्रालयले हाल परीक्षणको दायरासमेत खुम्चाएको छ । दिनहुँ दुई हजारका दरले विदेशबाट मानिसहरु आइरहेकामध्ये जोखिममा रहेकाबाहेक सबैको परीक्षण गर्न देशको आर्थिक व्यवस्थाले पनि धान्न नसक्ने डा. गौतमले जिकिर गर्नुभयो ।

कोरोना संक्रमितको संख्या १९ हजार नाघिसकेको अवस्थामा संक्रमणप्रतिको सतर्कता र सावधानीमा हेलचेक्र्याईं गर्ने हो भने अवस्था भयावह हुने निश्चित छ ।

त्यसमाथि देशैभरबाट मानिसहरु उपत्यका प्रवेश गरिरहेकाले यहाँ कोरोना संक्रमण थप चुनौतीपूर्ण हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्