२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपामा समानान्तर शक्ति–संघर्ष


0
Shares

politics

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज)

काठमाडौं, साउन १४ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श नगरी बैठक स्थगित गर्नु र त्यसपछि दाहालसहितको असन्तुष्ट पक्षले बैठक सञ्चालन गर्नुले नेकपामा समानान्तर शक्ति–संघर्ष स्पष्ट देखिएको छ ।

विगतमा एक पक्षले अर्को पक्षलाई ‘बाइपास’ गरेर बैठक स्थगित वा सञ्चालन गर्ने काम नभएपनि मंगलबार भने ओलीले एकपक्षीय बैठक स्थगित गर्नु र दाहाल–माधव नेपाल पक्षले बालुवाटारमै बैठक बोलाउनुले नेकपा समानान्तर शक्ति–संघर्षमा पुगेको हो ।

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक १३ पटकसम्म स्थगितको इतिहासै रचेर अनिर्णयको सिकार बनेपछि ओली समूहले एकपक्षीय बैठक स्थगित गराएको भनी मंगलबार ओलीइतर समूहका सदस्यहरु बालुवाटारमै बैठक बसे ।

बहुमतका आधारमा निर्णय नभएपनि अघि बढ्ने रणनीति बनाएको दाहाल–नेपाल समूहले राखेको बैठकलाई भने ओली पक्षले खुमलटारको गुट भेला बालुवाटारमा गराएको आरोपमात्रै लगाएन, बैठकलाई मान्यता नै दिएन ।

ओलीबिनाको बैठक अनिर्णीतमात्र बनेन, बरु यसअघि दाहालसँगै रहेका गौतमले आफू ओलीको खेमामा भएको संकेत गरे ।

यता, योगेश भट्टराईले यसरी समाधान ननिस्कने चेतावनी र भीम रावललेसमेत एकपक्षीयरुपमा गरिएको भेलामा अध्यक्षहरुले आफूहरुलाई प्रयोग गरिरहेको आरोप लगाए ।

त्यस्तै, बैठकमा दाहाल समूहका भनिएका गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट त उपस्थित नै भएनन् । यसले दाहाल–नेपाल समूह थप कमजोरउन्मुख भइरहेको स्पष्ट देखाएकै थियो । साथै, बहुमत हुँदा–हुँदै कुनैपनि निर्णय गर्न नसक्ने प्रमाणित गर्‍यो ।

बैठकका एजेन्डालाई लत्याएर सहमति र सहकार्यविपरीत प्रधानमन्त्रीको राजीनामा केन्द्रित स्थायी कमिटी बैठक औचित्यहीन बनेको ओली पक्षका नेताहरुको आरोप छ ।

तर, पार्टी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत भएको दाबी गर्ने दाहाल–नेपाल समूहका नेताहरु प्रधानमन्त्री ओलीको दृढताको अघि लाचार भएको देखिन्छ भने बरु, अल्पमतमा परेका ओलीले एकपछि अर्को अस्त्र देखाएर सो समूहलाई तर्साउँदै ठेगान लगाउन थालेका छन् ।

गत वैशाख ८ गते दल फुटाउन सजिलो हुनेगरी ल्याएको अध्यादेश, नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गराउनेदेखि प्रतिपक्ष दल कांग्रेससँग भेटघाट बाक्लिनुले दाहाल–नेपाल समूह त्रसित बनेको छ ।

नेकपाभित्रको आन्तरिक विवादमा समीकरण फेरबदलले पार्टी एकीकरणको काम नसकिँदै विवाद विग्रहतिर उन्मुख बन्दा नेकपा स्वयं बन्धकको सिकार बन्दै त गएकै छ । साथै, बहुमतमा रहेको पार्टीको सरकार प्रभावकारी बन्न नसकेको सन्देश आमजनमानसमा गएको छ ।

भिडियो हेर्नुहोस्