
दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज)
काठमाडौं, साउन १४ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षको एउटै ढोकामा तीनओटासम्म ताला झुन्डिएका छन् ।
विभिन्न माग राखी आन्दोलन गरिरहेका पक्षसँग वार्ता भइरहेको त्रिविले जनाएपनि वार्ताको पहल नै नभएको आन्दोलनरत् पक्षको जिकिर छ । यसको मार भने त्रिविको शैक्षिक गतिविधिमा परेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा तीनओटा ताला लागेका छन् ।
पदाधिकारीको कार्यकक्षको मूलढोकामा तालाबन्दी गरेपछि त्यसभित्र रहेका अन्य कार्यालयको कार्यसम्पादनमा समेत समस्या भएको त्रिविले जनाएको छ ।
त्रिविका नियुक्तिहरुमा सत्तारुढ नेकपाको भर्तीकेन्द्र बनाइएको भन्दै नेपाल विद्यार्थी संघले साउन ४ गते तालाबन्दी गर्यो ।
विश्वविद्यालयलाई राजनीतिकरणभन्दा टाढा राख्नुपर्ने र राजनीतिक नियुक्ति खारेजीको मागलगायतका ३३ सूत्रीय माग राख्दै प्रजातन्त्रवादी प्राध्यापक संघले साउन ५ गते तालाबन्दी गर्यो ।
यस्तै, समावेशी सिद्धान्तअनुरुप नियुक्ति नभएको भन्दै लोकतान्त्रिक प्राध्यापक संघले साउन ११ गते ताला लगाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले भने प्रजातन्त्रवादी प्राध्यापक संघसँग वार्ता भएको र विद्यार्थी संघसँग वार्ताको प्रयास भइरहेको जनाएको छ ।
त्रिविले पहिलो चरणमा वार्ता भएको बताएपनि त्रिविले औपचारिक पहलसमेत नगरेको प्रजातन्त्रवादी प्राध्यापक संघको आरोप छ ।
आन्दोलनरत् पक्षले पदाधिकारीसँगमात्रै वार्ता गर्ने भनेपछि माग सम्बोधन गर्न भन्दै त्रिविले पुनः साउन ४ गते शिक्षाध्यक्ष शिवलाल भुसालको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
यसअघि गरिएका राजनीतिक नियक्ति रद्द गरी आगामी दिनमा प्राज्ञिक वरिष्ठताका आधारमा पारदर्शी मापदण्ड निर्धारण गरेर पदाधिकारी नियुक्ति हुनुपर्ने अडानमा आन्दोलनरत् पक्ष छन् ।
त्रिविले भने पदाधिकारीको राजीनामाबाहेकका विषयमा सहमत हुन सकिने जनाएको छ ।
त्रिविलाई प्रतिस्पर्धी र गुणस्तरीय प्राज्ञिक थलो बनाउनुपर्नेमा राजनीतिक भागबन्डाको छिनाझपटीले शैक्षिक क्षेत्रलाई भने कमजोर बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्