२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाविरुद्धको अभियानमा राष्ट्रपति ट्रम्पले अवरोध गरिरहेको फाउचीको आरोप


0
Shares

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवरोध गरिरहेको संक्रामक रोग नियन्त्रण एजेन्सीका निर्देशकले आरोप लगाएका छन् ।

अमेरिकाको नेशनल एजेन्सी फर एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका गलत दिशातर्फ लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

फाउचीले बीबीसीसंगको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पको मास्क सम्बन्धि नीति गलत रहेको बताउँदै कोभिड १९ विरुद्धको लडाईँमा उक्त नीति सहयोगी नरहेको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पको हालै सार्वजनिक भएको भिडियोमा मास्कको विरोध गर्नुका साथै मलेरियाको उपचारमा प्रयोग हुने औषधि हाइड्रो क्लोरोक्वीन कोभिड १९ को उपचारमा उपयुक्त हुने दाबी प्रस्तुत गरिएको थियो ।

सामाजिक सञ्जालमामार्फत सार्वजनिक गरिएको भिडियो १७ मिलियन भन्दा बढीले हेरिसकेका छन् । उक्त भिडियो हाल फेसबुक र ट्वीटरले हटाएका छन् ।

ट्रम्पले पछिल्लो समय लगातार डा. फाउचीसहितका आफ्नै विज्ञहरुको सुझाव विपरित कोरोना भाइरसका सम्बन्धमा गलत र भ्रामक अभिव्यक्ति दिंदै आउनुभएको छ ।

विश्वमै महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ४५ लाख ६८ हजार बढी पुगेको छ ।

त्यसमध्ये १ लाख ५३ हजार ८ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । एजेन्सी