
काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अनुशासन समितिका पदाधिकारीहरुको योग्यतामै प्रश्न उठाउनुभएको छ ।
पौडेलले कैलालीका कांग्रेस नेता पुष्करनाथ ओझालाई अनुशासन समितिले कारबाही गरेकामा आपत्ति जनाउनु भएको हो ।
पार्टीको अनुशासन समितिको नेतृत्व र नियतमाथि प्रश्न उठाउँदै ओझालाई गरिएको कारबाहीको पौडेलले सामाजिक सञ्जालमार्फत् विरोध गर्नुभएको हो ।
आसन्न १४ औं महाधिवेशनको मुखमा पार्टी नेताहरुलाई धमाधम कार्वाही गरिएकामा कांग्रेसभित्र चर्को विरोध भइरहेको छ ।
ओझासँगै गत निर्वाचनमा पौडेलविरुद्ध नै उम्मेदवारी दिनुभएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि भने उहाँकै उजुरीमा कार्वाही गर्दै पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरिएको छ ।
केही दिनअघि पार्टीको अनुशासन समितिले ओझा र जोशीसहित ३२ जनालाई गत चुनावमा पार्टी हित विपरीत काम गरेको भन्दै निष्कासन गरेको थियो ।
कैलालीका ओझाको निर्वाचन क्षेत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई उम्मेदवार बनाइएको थियो । आरजुलाई उम्मेदवार बनाइएपछि निष्क्रिय रहेका ओझामाथि सहयोग नगरेको आरोपमा कार्वाही गरिएको हो ।
तनहुँमा आफूविरुद्ध उम्मेद्वारी दिने जोशीप्रति गरिएको कारबाहीको समर्थनमा देखिनुभएका पौडेलले लेख्नुभएको छ, ‘सिटिङ्ग संसदको उम्मेदवारी खोसिएका कैलालीका पुस्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवारसँग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निष्काशनको कारबाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।’
देउवा र पौडेलको सेटिङमा अनुशासनको कार्वाही गरिएको भन्दै पार्टीभित्र भने चर्को विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्