
दुर्गा उपाध्याय (इमेज)
कञ्चनपुर, साउन १५ । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाइ पाएका छन् ।
विष्टसहित डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदीश भट्ट, सईहरु रामसिंह धामी, हरिसिंह धामी र प्रहरीजवान चाँदनी साउदले सफाइ पाएका हुन ।
खड्कसिंह विष्ट वादी रहेको ‘यातनाविरुद्धको कसुर’ र दुर्गादेवी पन्त वादी रहेको ‘सार्वजनिक न्यायविरुद्धको कसुर’ मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनपुरले बिहीबार प्रहरी कर्मचारीका पक्षमा फैसला सुनाएको हो ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासमा यी दुई मुद्दाको बुधबारदेखि सुनुवाइ भएको थियो ।
‘यातनाविरुद्धको कसुर’को फैसलमा अदालतले दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणपछिमात्रै हिरासतमा लिएको, अदालत तथा सरकारी वकिलको कार्यालयमा पटक–पटक सोध्दा आफूलाई यातना दिएको नभनेको, जमानतमा छोड्दासमेत स्वास्थ्य परीक्षण गराइएको र त्यसमा कुनै चोटपटक लागेको नदेखिएको तथा उनमा देखिएको मानसिक रोग पुरानो भएकाले प्रहरीले यातना दिएको भन्ने प्रमाणित नभएकोलगायतका कारणले सफाइ पाएको उल्लेख गरिएको छ ।
वादी खड्क विष्ट र दुर्गादेवी पन्तका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका थिए । प्रतिवादीहरुका तर्फबाट छजना अधिवक्ताहरुले बहस गरेका थिए ।
निर्मलाको हत्यापछि पक्राउ परेका दिलिपसिंह विष्टका दाजु खड्कले जिल्ला प्रहरी कार्यालयको हिरासतमा आफ्ना भाइलाई यातना दिएको भन्दै यातनासम्बन्धी मुद्दा दर्ता गरेका थिए । निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकी थिइन् ।
२०७६ साल साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । तर, हालसम्म दोषी पहिचान हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्