२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘नेकपा विभाजनउन्मुख’


0
Shares

politics

अक्कल कुँवर (इमेज)

काठमाडौं, साउन १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति–संघर्ष लम्बिँदै जाँदा नेकपा फुटउन्मुख भएको हो कि भन्ने आशंका झनै बढेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेको मंगलबारको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेपछि नयाँ मोडमा पुगेको नेकपा किचलो ओलीविरोधी समूहमा आवद्ध सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउन लिखित माग राखेपछि चरमोत्कर्षमा पुगेको छ ।

ओलीले स्थगित गरेको मंगलबारको स्थायी कमिटी बैठक दाहालको अध्यक्षतामा त्योपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेर दुई खेमा वारपारको लडाइँमा उत्रेका छन् ।

नेताहरु एकले अर्काको कुरा सुन्ने र समाधान खोज्ने बाटोमा लाग्नुको साटो शक्ति प्रदर्शनमा तल्लिन देखिएका छन् ।

विवादलाई जुंगाको लडाइँका रुपमा लिएका दुवै अध्यक्षले शक्ति देखाएर एकले अर्कोलाई गलाउने रणनीति लिएको देखिन्छ । यसले नेकपाको भविष्यमा कालो बादल मडारिएको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनाल त नेकपा विभाजनउन्मुख भएको ठान्नुहुन्छ ।

उसो त खनाललेजस्तै नेकपाकै शीर्ष नेताहरुले पनि पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताइरहेकै छन् ।

ओली र दाहाल–माधव नेपाल गुटको नामले चिनिने समूहगत विवाद टालटुल पार्न पार्टीका दोस्रो र तेस्रो तहका नेताहरुले गरिरहेको दौडधुप फलदायी बनिरहेको छैन । किनकि, दोस्रो तहका नेताहरु पनि आफ्नो स्वार्थपूर्तिको लागिमात्र सक्रियता देखाइरहेका छन् ।

सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको टकराव अब केन्द्रीय समितिको फराकिलो मञ्चमा पुग्ने देखिएको छ ।

केन्द्रीय कमिटीबाट विवादको छिनोफानो गर्नुपर्ने मागसहित अन्तरिम विधानअनुसार नेकपाका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठकको माग गरेका छन् । यो विधि उपयुक्त हो ।

विश्लेषक खनाल मतभेद टुंग्याउन शीर्ष चारजना नेताको चंगुलबाट नेकपालाई मुक्त पार्नैपर्ने टिप्पणी गर्नुहुन्छ ।

हो, नेकपाविवादको मूल पात्र ओली र दाहाल–नेपाल खेमा नै हो । आगोमा घिउ थप्ने काम नेता झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताबाट भइरहेको छ ।

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदबाट मुक्त गर्ने अभियानले विश्राम लिने छाँट देखिँदैन भने ओली पार्टी विभाजन नै भएपनि दुवै पदको कुर्सीमोहबाट मुक्त हुने सम्भावना तत्काललाई छैन । यसले नेकपा कहाँ पुग्छ भनेर अनुमानै गर्न नसकिने विषम परिस्थिति उत्पन्न भएको छ ।

भिडियो हेर्नुहोस्