१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘एमसीसी’ विषयमा उद्योगमन्त्री भट्टलाई ‘ज्यानमार्ने’ धम्की, सांसदहरुलाई पनि आयो धम्की


0
Shares

काठमाडौं, साउन १५ । उद्योगमन्त्री लेखराज भट्टले ‘एमसीसी’ सम्झौताका विषयमा आफूलाई ज्यानमार्ने धम्की आएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले एमसीसी सम्झौता पास गरे जेपनि हुनसक्ने भन्दै बझाङबाट आफूलाई टेलिफोनबाट धम्की आएको बताउनुभएको हो ।

उद्योगमन्त्री भट्टले बझाङबाट एकजनाले फोन गरेर ‘एमसीसी पास गरे तेरो टाउको काटिन्छ’ भनेको बताउनुभयो ।

समितिको बैठकमा अरु सांसदले पनि एमसीसी पास गरे जेपनि हुनसक्ने भन्दै आफूहरुलाई पनि धम्की आएको बताएका थिए ।

एमसीसी सम्झौता संसदमा विचाराधीन अवस्थामा रहेको छ ।

नेपालले एमसीसीसँग सन् २०१७ सेप्टेम्बरमा करिब ५५ अर्ब रुपैयाँ अनुदानको परियोजना निर्माण गर्ने सम्झौता भएको थियो ।

नेपालले सम्झौतालाई सबै प्रक्रिया पूरा गरेर २०७७ असार १६ गतेबाट कार्यान्वयनमा लाने प्रतिबद्धता जनाएको थियो ।

तर, सत्तारूढ नेकपाको आन्तरिक विवादका कारण कार्यान्वयन सुरु हुने मिति गुज्रिसक्दा पनि सम्झौता संघीय संसदबाट अनुमोदन गर्ने प्रक्रिया अघि बढेकै छैन ।

सम्झौता अनुमोदनका लागि सरकारले २०७६ असारमा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराएको छ ।

यसपालिको बजेट अधिवेशनमा पनि उक्त सम्झौता अनुमोदन नहुने भएपछि अर्थ मन्त्रालयले असार १५ गते एमसीसीको मुख्य कार्यालयलाई पत्र लेखेर कोरोना महामारीलाई कारण देखाउँदै कार्यान्वयन सुरु हुने मिति सार्नका लागि छलफल अघि बढाउन आग्रह गरेको छ ।