
ओखलढुंगा । ठेकेदारको लापरवाहीका कारण जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको निर्माणधिन भवन अलपत्र भएको छ ।
६ वर्ष बित्दासमेत भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणको काम जिम्मा लिएर काम नगर्दा भवन निर्माण कार्य अलपत्र परेको हो ।
२०७१ असार ३१ गते एकवर्षभित्र सक्नेगरी शिक्षा विभागले ठेकेदारसँग २ करोड ८८ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण सम्झौता गरेको थियो ।
निर्माण सामग्री फिल्डमा पुर्याउन समस्या भएको, भूकम्प र नाकाबन्दीलगायतको बहाना बनाउदै ठेकेदारले भवन निर्माणको काम अलपत्र छाडेको हो ।
ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता र स्पष्टीकरण सोधिए पनि काम अगाडि बढ्न सकेको छैन । भवनको जग सम्झौता भएको २ वर्षभित्रै हालिए पनि बाँकी संरचना निर्माण भएको छैन ।
अहिले भवनको जग हालेको क्षेत्र झाडिमा परिणत हुन थालको छ । शिक्षा विभागमार्फत लागेको सो ठेक्काको काम नभएपछि विभागले पछिल्लो समयमा बजेट पठाउन छाड्दा झनै समस्या भएको हो ।
भवन निर्माण नहुँदा शिक्षा विकास तथा समन्वय इकाई भाडामा बस्नु पर्दा वार्षिक ८ लाख रुपैयाँ घरभाडा खर्च भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्