१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व स्तनपान सप्ताह मनाइँदै


0
Shares

काठमाडौं, साउन १६ । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नारासहित यही साउन १७ देखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने भएको छ ।

परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा ६६ प्रतिशत महिलालेमात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनि घट्दै गएको पनि जानकारी गराएको छ ।

कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यस्तै, उहाँले स्तनपान गराउनेमध्ये ८० प्रतिशत महिलाले एक वर्षसम्म स्तनपान गराउने गरेको पाइएको बताउनुभयो ।

१ प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा गरेको अध्ययनमा छ महिनादेखि दुई वर्षसम्मका ८७ प्रतिशत बालबालिकाले ‘जंक फुड’को प्रयोग गर्ने गरेको देखाएको थियो ।

अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउने गरेको देखाएको छ ।