
काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न शुक्रबार आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताउनुभयो ।
अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर अगाडि बढ्नुपर्ने रहेको उल्लेख गर्दै उहाँले व्यवहार, सोच र योजना बेला–बेला अपडेटेड नहुँदा समस्या भएको टिप्पणी गर्नुभयो ।
हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति हुन नसकेको बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उहाँले बताउनुभयो ।
आयोजनाहरुको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उहाँले बताउनुभयो ।
शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालयका सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
यस्तै, प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा नेपाली सेनाअन्तर्गत् कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरुसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया दिनुहोस्