२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


खेलाडीहरुका लागि उचित तलब–भत्ताका लागि सरकारसँग कुरा गर्छु : देउवा


0
Shares

sports

काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १३औं ‘साग’का स्वर्णपदक विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभएको हो ।

राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरुलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘खेलकुद ऐन निर्माण गर्दा त्रुटि’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको बताउनुभएको छ ।

कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीलेसमेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकारवालाहरुलाई सहभागी गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

आगामी दिनमा ऐन बनाउँदा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

सरकारले केही समयअघिमात्रै जारी गरेको राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा उहाँले असन्तुष्टि जनाउँदै आउनुभएको छ ।