
काठमाडौं । नेपालका भिक्षु डा.सुगन्ध महास्थविरलाई थाइल्यान्डका राजा महावालिरालङ्कनले अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गर्नुभएको छ ।
शुक्रबार थाइल्यान्डको राजकीय बौद्ध विहारमा धार्मिक एवं राजकीय समारोह बीच थाई संघराजपछि चौथो तहको देवसमान सो पद राजाका विशेष प्रतिनिधिले प्रदान गर्नु भएको हो ।
विश्व बौद्ध जगत्मा निकै सम्मानित र गौरवमय मानिएको यो पद पाउने भिक्षु सुगन्ध पहिलो नेपाली भिक्षु हुन् ।
यही साउन ७ गते सो पदवी दिने निर्णय थाइ राजसंस्था र थाई बौद्ध संघले गरेको थियो ।
गृहस्थ नाम अनिलमान शाक्यलाई यसअघि ‘फ्रा शाक्यवंशविशुदि’ राजकीय सम्मानयुक्त पदवी प्रदान गरिएको थियो ।
चार दशकदेखि थाइल्यान्डको बौद्ध धर्म र बुद्ध शासनमा योगदान पुर्याए बापत राजाले सो पद प्रदान गरेका हुन् ।
विभिन्न बौद्ध विश्वविद्यालयमा आवद्ध भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर समेत हुन् ।
थाई संघको देव पदमा एक सय एक जना भिक्षुहरु हुने गर्दछ । थाइल्यान्डमा ३ लाख २८ हजार २ सय ४४ भिक्षुहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्