
काठमाडौं, साउन १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शतप्रतिशत ‘पीसीआर’ परीक्षणको माग राख्दै अनशनरत् युवाहरुको मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।
अनशनरत् ‘इनफ इज इनफ’का युवाहरुलाई भेट्न शनिबार वसन्तपुर पुग्नुभएका देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।
यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनशनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताउनुभएको छ । सिटौला पनि शनिबारै अनशनस्थल वसन्तपुर पुग्नुभएको थियो ।
शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, ‘क्वारेन्टिन’को अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो ।
कोरोनाविरुद्धको लडाइँमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्