
काठमाडौं, साउन १७ । आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढीको तरकारी तथा खाद्य सामग्रीमात्रै आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक आयात–निर्यात तथ्यांकअनुसार खाद्यान्न, हरियो तरकारी तथा गेडागुडीलगायतका खाद्य सामग्री एक खर्ब ४० अर्ब बढीको आयात भएको छ ।
कृषिप्रधान देश नेपालमा हरियो तरकारीदेखि गेडागुडीलगायतका खाद्यान्न विभिन्न देशहरुबाट आयात हुने गरेको छ ।
यस अवधिमा चामलमात्रै २४ अर्ब ११ करोडको आयात भएको छ । चामल दक्षिण कोरिया, चीन, भारत, स्पेनलगायतका देशबाट आयत हुने गरेको छ ।
भन्सार विभागकै तथ्यांकअनुसार १३ अर्ब ७३ करोड बराबरको मकै आयात भएको छ ।
यस्तै, चिया तथा कफी एक अर्ब १५ करोडको, दुग्धजन्य वस्तु २२ अर्ब तथा फलफूल २० अर्ब ७४ करोडको आयात भएको छ ।
भन्सार विभागकै तथ्यांकअनुसार तेलजन्य वस्तु १९ अर्ब १५ करोड तथा हरियो तरकारी ३३ अर्ब ५७ करोडको आयात भएको छ ।
यस्तै, यसै अवधिमा पेयपदार्थ तीन अर्ब ९० करोडको आयात भएको छ ।
एक वर्षको अवधिमा चिनी तथा गुलियो वस्तु चार अर्ब २७ करोड बराबरको आयात भएको छ भने मासु तथा माछाजन्य वस्तु १० करोड ७६ लाख बराबरको आयात भएको छ ।
यस्तै, यसै अवधिमा आठ अर्ब १२ करोड बराबरको फर्निचर तथा काठजन्य वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।
यस्तै, एक वर्षकै अवधिमा ३३ करोड ३४ लाखको छातामात्रै आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यसै अवधिमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको छ भने चीनसँग एक खर्ब ८१ अर्ब बराबरको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।
अमेरिकासँग २३ अर्ब ५४ करोड बराबरको व्यापार घाटा रहेको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ माभन्दा आर्थिक वर्ष २०७६/७७ मा १५.६३ प्रतिशतले आयात घटेको तथा निर्यात ०.६२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्