
काठमाडौं, साउन १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २ ले वृद्धि गरेको छ ।
यस्तै, डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार पछिल्लोपटक इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।
यसअघि, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरेको छैन ।
निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको सहर वीरगन्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।
नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृतरुपमा भारततर्फ तस्करीसमेत हुने गरेको छ ।
निगमले यसअघि भने जुलाई १६ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्यवृद्धि नगरेकोसमेत स्मरण गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्