
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक हिजो थप भासिएको हो ।
मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको प्रहरीको भनाइ छ ।
यस्तै सोही स्थानको नजिकै तिनाउ–३ झुम्सामा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ ।
दुई स्थानमा सडक भासिएपछि यो सडक खण्ड भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।
सिद्धार्थ राजमार्गको झुम्सादेखि तल्लो सिद्धबाबासम्मको करिब ५ किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिम क्षेत्र मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्