
काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पनि छलफल हुँदैछ ।
केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित केही नेताहरूबीच छलफल हुने बताइएको छ ।
यसअघि हिजो २ अध्यक्ष १३ साउनपछि पहिलो पटक छलफलमा बसेका थिए । हिजोको बैठकमा सकारात्मक कुरा भएकाले सहमतिका लागि आज पनि थप छलफल गर्न लोगको नेताहरुले बताएका छन् ।
अध्यक्षद्वयको टकरावले नेकपाभित्रको विवाद हल हुन नसकेको बताइन्छ । यही कारण गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
अध्यक्ष केपी शर्मा ओली सरकार र पार्टीलाई गतिशील ढंगले चलाउन असफल भएको आरोप लगाउँदै अर्का अध्यक्ष दाहालगायतका शीर्ष नेताले राजीनामा मागेपछि स्थायी कमिटी बैठक बोलाइए पनि ओलीका कारण स्थगित हुँदै आएको छ ।
गत वैशाखमा प्रधानमन्त्री ओलीले ल्याएका २ विवादास्पद अध्यादेशपछि नेकपाभित्र विवाद चर्किएको हो ।
त्यसयता ओलीका धेरैजसो निर्णय र कार्यशैलीलाई लिएर दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेवलगायतले असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्