सर्लाही । २० वटै स्थानीय तहले तत्काल ६ हजार जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना भाईरस परीक्षण गर्ने भएका छन् ।
हरेक स्थानीय तहले समुदाय स्तरका कम्तीमा तीन सय जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
आईतबार सदरमुकाम मलंगवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा पनि समुदाय स्तरका व्यक्तिहरुको कोरोना परीक्षण गराउने निर्णय गरेको हो ।
प्रजिअ पौडेलले समुदायको अवस्थाबारे जाँचबुझ गर्न नमूनाको रुपमा एउटा स्थानीय तहले आफ्नो पालिकाभित्र कम्तीमा तीन सय जनाको जाँच गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।
हाटबजारका व्यापारी, नापी, मालपोत लगायत भीडभाड हुने कार्यालयका कर्मचारी, बैंक तथा बित्तीय संस्था र स्थानीय पालिकाका कर्मचारी, प्रहरी लगायतको थ्रोट स्वाब लिएर परीक्षण गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्