
झापा, साउन २० । झापामा ‘पीसीआर’ परीक्षणका लागि दुईओटा ल्याब सञ्चालनमा आउने भएको छ ।
प्रदेश नम्बर–१ को झापामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुईओटा ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
प्रदेश–१ का अन्य जिल्लाभन्दा झापामा कोरोना संक्रमितको संख्या बढेपछि झापामा ल्याब सञ्चालनमा ल्याउन लागिएको मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताउनुभयो ।
झापामा मात्र ३७५ जना कोरोना संक्रमित छन् ।
प्रदेश–१ सरकारको समन्वयमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा र जनस्तरबाटसमेत झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा पीसीआर ल्याब राख्ने तयारी गरिएको हो ।
मेची अस्पतालमा २५ शय्याको आइसोलेसन बेड निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई दुईओटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।
झापासहित पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङले अहिले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको छ ।
अब मेची अस्पतालमै पीसीआर परीक्षण हुन लागेपछि चार जिल्लाबासीलाई सहज हुने बताइएको छ ।
ल्याब जडान गरेपछि एकपटकमा ९० जनाको स्वाबको परीक्षण गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्