१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाचार प्रभावः कार्टुनमा शिशु फालेर पैसा जम्मा गर्ने केयर होममा रकम फिर्ता माग्नेको लर्को (भिडियो)


39
Shares

kapan

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज)

काठमाडौं, साउन २० । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि देश–विदेशमा सनसनी बनेर फैलियो ।

सनसनीमात्रै फैलिएन, शिशुलाई देखाएर पैसा जम्मा गर्ने केयर होमकी सञ्चालकसँग पैसा फिर्ता लिन जानेको उत्तिकै भिड लागेको छ ।

कपनचौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालनपोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश–विदेशका मनकारीहरुले आ–आफ्नो खर्च कटौती गरेरै पैसा पठाए ।

शिशुका लागि भन्दै संसारभरका मानिस तँछाड–मछाड गरेर पैसा दिन ओइरिएपछि उनले मनग्गै रकम पनि जुटाइन् ।

पढ्नोस्, समाजको घिनलाग्दो पाटोः पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो सडकमा

तर, घटनाको वास्तविकता उदांगिएपछि भने अहिले सहयोगीहरु नै रकम फिर्ता लिन पुष्पा अधिकारीले सञ्चालन गर्दै आएको केयर बालगृहमा पुग्न थालेका छन् ।

घटनाको गाँठी कुरो थाहा नपाइ समाचार सम्प्रेषण गर्ने र घटनाबारे थप जानकारी दिन सञ्चारमाध्यमहरुको घुइँचो नै लाग्यो, बालगृहमा ।

भिड नियन्त्रणकै लागि बालगृहमा प्रहरी परिचालन गर्नुपर्नेसम्मको अवस्था आइपरेको छ ।

अबोध शिशुलाई कार्टुनमा फालिएको भन्ने नाटक मच्चन गरेको स्वीकारेकी बालगृहकी सञ्चालक अधिकारीले हाम्रो टोलीसमक्ष सहयोगस्वरुप प्राप्त रकम फिर्ता गर्न आफू तयार भएको बताइन् ।

समाचारको प्रभावस्वरुप काठमाडौंमात्र होइन, देश–विदेशबाट सहयोग गरेकाहरुले रकम फिर्ता लैजान थालिसकेका छन् ।

चार वर्षदेखि सञ्चालित उक्त बालगृहकाबारेमा जानकारी नै नभएका छिमेकीहरु पनि घटना उजागर भएपछि चकित भएको बताउँछन् ।

संस्थामा रहेका अरु बालबालिकालाई कतै लैजान नदिने र आफैंले पालनपोषण र हेरचाह गर्नेपनि पुष्पाले बताइन् ।

वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी महिलाले जन्माएकी उक्त शिशुलार्ई देखाएर पैसा जम्मा गरिएको थियो । पछि भने उक्त महिलाले प्रहरीको रोहबरमा आफ्नो शिशु आफैंसँग लगेकी छिन् ।

यसको पछाडि शिशुको नाममा आएको सहयोग रकमको लेनादेना नमिलेर हो वा अरु नै केही भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यद्यपि, पुष्पाको दाबीअनुसार शिशु महिलाले आफैं ल्याएको नभइ अरु कुनै महिलामार्फत् केन्द्रमा ल्याएको र शिशुकी आमालाई सहयोग गर्नकै लागि यो नाटक गरिएको थियो ।

एउटी अबोध शिशुलाई माध्यम बनाएर गरिएको यसखाले नाटक मञ्चनले समाजमा कस्तोसम्म प्रवृत्ति मौलाएको छ भन्ने दृष्यमात्र उजागर गरेको छैन, कानुन कार्यान्वयन गर्ने अधिकारीहरुलाई यस्ता घटना हुन नदिन सतर्कपनि गराएको छ ।

भिडियो हेर्नुहोस्