
कञ्चनपुर, साउन २० । कञ्चनपुरको ब्रह्मदेवमा देखिएको सीमा विवादबारे नेपाल–भारतका अधिकारीबीच मंगलबार अनौपचारिक छलफल भएको छ ।
छलफलमा सीमालाई व्यवस्थित गर्ने, दशगजामा निर्माणको काम नगर्ने, सीमा नक्सांकनको कामलाई चाँडै निरन्तरता दिने र तस्करीलगायतका अवैध कामलाई रोक्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो ।
उहाँले ‘एसएसबी’ आफैं नेपाल आएर जनतासँग छलफल गर्न खोज्दा बढी विवाद हुने गरेको बताउँदै आगामी दिनमा सशस्त्र प्रहरीमार्फत् आफ्ना गुनासो राख्ने सहमति भएको पनि बताउनुभयो ।
एक साताअघि भीमदत्त नगरपालिका–९, ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तारबारकाक्रममा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि विवाद चर्किएको थियो ।
छलफलमा सीमाक्षेत्रमा दुवै देशका सुरक्षाकर्मीलाई गस्ती गर्न दिइने सहमति भएको बताइएको छ ।
सामुदायिक वनमा तारबारकाक्रममा एसएसबीले हस्तक्षेप गरेपछि ब्रह्मदेवका स्थानीयले भारतीय सुरक्षाकर्मीलाई गस्ती गर्न अवरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्