८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेकपामा रणनीतिको रस्साकस्सी


0
Shares

kp oli prachanda

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज)

काठमाडौं, साउन २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको छ न त केन्द्रीय समिति बैठक बोलाइने संकेत देखिएको छ ।

तर, सहमतिलाई आफ्नो पक्षमा पार्न नेताहरुका दौडधुप भने तीव्र छन् ।

साउन १३ गतेबाट अनिश्चित बनेको नेकपा स्थायी समितिको बैठकपछि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनतालाई चिर्दै गतिरोध अन्त्यका लागि छ दिनपछि साउन १८ र १९ गते लगातार दुई दिनको वार्ताले सहमतिमा पुर्‍याउनेभन्दा झन् तिक्तता बढायो ।

वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङलाईसमेत साक्षी राखेर गरिएको वार्ताले पनि सहमति पहिल्याउन भने सकेको देखिएन ।

गत साउन १३ गतेको बैठक स्थगित गरेपनि आफूइतरका नेताहरुले बालुवाटारमै गरेको बैठकले वैधानिकता नपाउने भन्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकको औचित्य नभएको जनाउ दिनुभयो । उहाँले केन्द्रीय समितिको बैठक बोलाउनसमेत अस्वीकार गरेको संकेत दिनुभएको छ ।

अर्का अध्यक्ष दाहाललेसमेत बैठकलाई निरन्तरता दिन ओलीसँग आग्रह गरेपनि बैठक न त एजेन्डामा अघि बढ्न सकेको छ न त टुंगिन नै ।

यसरी बैठक नै कोपभाजनमा परेपछि असन्तुष्ट बनेका ओलीइतरका नेताहरु भने पदका लागि अध्यक्षद्वयका आन्तरिक खिचातानीले पार्टीलाई बन्धक नबनाइ विधिसम्मत् पद्धतिका लागि कमिटी प्रणालीअनुरुप पार्टी चलाइनुपर्ने माग राख्न थालेका छन् ।

बालुवाटारमा आयोजित बैठकमा समेत सहभागी नहुने ओली पार्टीभित्र विवाद चर्किरहेको बेला उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमै भने पुग्न भ्याउनुभयो ।

गौतमको छबुँदे प्रस्ताव आफ्नो पक्षमा देख्नुभएका उहाँले आफूले सचिवालयमा बहुमत पुर्‍याएको आँकलन गर्दै स्थायी समिति बैठकभन्दा सचिवालयमा सहमति गरेर जाने पक्षमा मत राख्नुभयो ।

तर, ओली र गौतमको भेटबाट सचिवालयको समीकरण ओलीको पक्षमा हुने हो कि भन्ने आशंकाबाट हच्किनुभएका दाहालपनि गौतमलाई आफ्नो साथमा रहेको भेटेरै आश्वस्त पार्न खोज्नुभयो ।

स्थायी समिति र केन्द्रीय समिति बैठकको जोडबल गर्ने दाहालले ती मुद्दा त्यागेर ओलीको सहमतिमा महाधिवेशनको तयारीमा लाग्नु नै निकास रहेको ओलीपक्षका नेताहरु सुझाउँछन् ।

यसअघि, ओली–दाहालबीचका वार्तामा सचिवालय बैठक बस्ने वा स्थायी कमिटी बैठक भन्नेमै कुरा मिल्न नसक्दा दाहाल स्थायी समिति बैठक राखेर निकास निकाल्नुपर्ने पक्षमा र ओली स्थायी कमिटी रोकेर सचिवालयबाटै सहमति खोज्नुपर्ने पक्षमा उभिनुभयो ।

वामदेवलाई आफ्नो पक्षमा पारेर बहुमत पुर्‍याउने र सचिवालयमा आफ्ना पक्षमा निर्णय गरी स्थायी समितिबाट पारित गराउने रणनीतिमा रहनुभएका ओली आफ्ना पक्षमा नहोउञ्जेल बैठक नै नबोलाउने अवस्थामा उभिनुभएको छ ।

भिडियो हेर्नुहोस्