१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आमरण अनशनमा बैतडीका तीन युवा


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, साउन २० । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–२, सलेनामा तीनजना स्थानीय युवा मंगलबारदेखि आमरण अनशन बसेका छन् ।

वडा नम्बर–२ को कार्यालयले एकलौटी काम–कारबाही गरेको भन्दै पाँचबुँदे मागसहित स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट सलेनास्थित अस्थायी प्रहरीचौकीनजिक अनशन बसेका हुन् ।

वडाले जनताको चाहनाविपरीत विभिन्न गतिविधि गरेको, वडाध्यक्षले मनपरी गर्नुका साथै स्थानीयहरुको भावनाविपरीत काम गरेको उनीहरुको आरोप छ ।

वडाध्यक्षको गलत अभिव्यक्ति, विद्युत् विस्तारमा लापरबाही, योजनाहरुमा अनियमितता र पहुँचका भरमा योजना छनोट गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनीहरुले माग राखेका छन् ।

यसअघि पनि सो वडामा विद्युत् विस्तारको माग गर्दै साउन १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।

सोमबार लगाएको ताला बिनाजानकारी नै प्रहरीको रहोबरमा वडाध्यक्षले तोडेको अनशन बसेका विवेकानन्द पाण्डेयले बताउनुभयो ।

‘वडाध्यक्ष तथा सत्तारुढ नेकपाका स्थानीय नेताहरुले अपशब्द भाषा प्रयोग गर्दै गालीगलौज गरेकाले सोविरुद्ध अनशन बसेका हौं’–उहाँले भन्नुभयो ।

वडामा विद्युत् विस्तारलगायत अन्य माग पटक–पटक राख्दा वडाध्यक्षले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ ।

आफूहरूले राखेको माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनीहरुले बताएका छन् ।

यसअघि, मेलौली नगरपालिका–२ मा वडाध्यक्ष र प्रहरीले ताला तोडेपछि तनाव उत्पन्न भएको थियो ।

सोमबार साँझ वडाध्यक्ष महेन्द्रबहादुर चन्दले प्रहरी प्रशासन बोलाएर ताला तोडेको भन्दै स्थानीयहरुले राति नाराबाजी गर्दै वडाध्यक्षमाथि हातपातको प्रयास गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

सेवाग्राहीहरुलाई समस्यामा नपार्नेगरी कार्यसञ्चालन गनुपर्ने भएकाले प्रहरी प्रशासनको रहोबरमा वडा कार्यालयको ताला खोलिएको वडाध्यक्ष महेन्द्रबहादुर चन्दले बताउनुभयो ।