
काठमाडौं । ब्रेन्टफोर्डलाई हराउँदै फुल्हम इंग्लीश प्रिमियर डिभिजनमा बढुवा भएको छ । प्रिमियरसिपबाट झरेको एक सिजनमै फुल्हम फेरी इंग्लीश फुटबलको शिर्ष श्रेणीमा फर्किएको हो ।
गएराती भएको च्याम्पियनसिपको प्ले–अफ खेलमा फुल्हमले आफ्नै शहर लण्डनको प्रतिद्धन्दी ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्यो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा फुल्हमका जोए ब्रायनले दुई गोल गरे ।
ब्रेन्टफोर्डका हेन्रीक डाल्सगार्डले अन्तिम मिनेटमा एक गोल गरेपनि टोलीलाई जोगाउन सकेनन् ।
जितपछि फुल्हमका पूर्व खेलाडी एवं प्रशिक्षक स्कट पार्करले टोलीलाई शिर्ष डिभिजनमा फर्काउँदा ब्रेन्टफोर्डको भने ७३ वर्षदेखिको सपना फेरी एकपटक चकनाचुर भएको छ ।
यो खेलसँगै यस सिजन च्याम्पियनसिपबाट प्रिमियर डिभिजनमा उक्लिने सबै ३ टोलीको टुंगो लागेको छ ।
फुल्हमभन्दा अघि लिड्स युनाईटेड र वेष्ट ब्रोम प्रिमियरसिपमा उक्लेका छन् भने प्रिमियर डिभिजनबाट वाट्फोर्ड, बर्नमाउथ र नरिच सिटी च्याम्पियनसिपका झरेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्