
वीरगन्ज, साउन २१ । पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगन्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंगलबार राति ९ बजे अस्पताल भर्ना भएका थिए ।
उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिनुभयो ।
ती पुरुषमा मंगलबारमात्र कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक मधुमेहका बिरामी रहेको बताइएको छ ।
यस्तै, पर्साको पोखरीया नगरपालिका–९, वार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको संक्रमणबाट मृत्यु भएको छ । ती युवतीमा मंगलबार आकस्मिक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
सोमबार झाडा–बान्ता हुन थालेपछि उपचारको लागि नेसनल मेडिकल कलेज वीरगन्जमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।
गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले उनको मृत्यु कोरोनाको कारण भएको बताउनुभयो ।
यता, वीरगन्जमा बुधबार एकैदिन १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
कोरोना ‘पोजिटिभ’ देखिएकामध्ये वीरगन्ज कारागारका कर्मचारी, कैदी, सेना, सशस्त्र प्रहरी, प्रहरी, वडाध्यक्ष, महानगरपालिकाका कर्मचारीलगायतका रहेका छन् ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह बनेको छ ।
प्रतिक्रिया दिनुहोस्