
काठमाडौं, साउन २१ । सरकारले ‘लकडाउन’लाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि पनि जुर्मुराउन थालेका छन् ।
फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई ‘क्वारेन्टिन’मा राखिसकिएको छ भने ब्याडमिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ ।
बुधबारबाट टेबलटेनिसले पनि समूह–समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ ।
चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबलटेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन् । लैनचैरस्थित टेबलटेनिस कोर्टमा अभ्यास सुरु भएको हो ।
नेपाल टेबलटेनिस संघले खेलाडीलाई विभिन्न समूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दा राजवैद्यले बताउनुभयो ।
पहिलो दिन थोरैमात्र खेलाडी अभ्यासमा देखिएका थिए । यद्यपि, विश्व नै कोरोनासँग जुधिरहेका बेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्थे ।
महामारीले नराम्रोसँग असर पारेको खेलकुदमा सावधानी अपनाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले बताउनुभयो ।
ब्याडमिन्टन, कराँते, फुटबलबाहेक अन्य खेलले अहिलेको अवस्थामा अभ्यास थाल्ने शुभसाइत कुरिरहेका छन् ।
क्रिकेटका केही खेलाडीले आफूअनुकूल कीर्तिपुरमा अभ्यास गरिरहेका छन् भने केही समूहगतका खेलले भदौ पहिलो साताको समय पर्खिरहेका छन् ।
तर, काठमाडौं उपत्यकामा पछिल्लो सयम बढेको कोरोनाको संक्रमणले भने अन्योल थपेको छ ।
प्रतिक्रिया दिनुहोस्