
अक्कल कुँवर र राममान डंगोल (इमेज)
काठमाडौं, साउन २१ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीचको एकताले निर्वाचन आयोगबाट गत असार २८ गते वैधानिकता पाएसँगै दुवै दलका तत्कालीन संरचना स्वतः विघटन भएका छन् ।
तर, पार्टी एकताले वैधानिकता पाएको एक महिना पुग्नै लाग्दा पनि नेताहरुको पदीय जिम्मेवारी र पार्टी संरचना बन्नसकेको छैन ।
नेताहरुले ललितपुरमा बुधबारदेखि सुरु केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि पदीय जिम्मेवारी र पार्टी संरचनाका काम तीव्ररुपले अगाडि बढ्ने दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)को संगठन भन्नु नै अहिले दुई अध्यक्षसहित ५१ जनाको केन्द्रीय कार्यकारिणी समिति हो ।
पार्टीमा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेताको हैसियतमा छन् ।
अध्यक्षसहितका यिनै पाँचजनाले पार्टी सञ्चालन गरिरहेको भएपनि जसपामा अहिले अरु कुनै संगठन छैन ।
पदीय बाँडफाँटमा सहमति जुट्न नसकेकै कारण जेठ २५ गते दल दर्ता गर्दा निर्वाचन आयोगमा दुई अध्यक्ष र तीन वरिष्ठ नेतासहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीको सूचीमात्र बुझाएको थियो ।
दल दर्ता गर्ने प्रयोजनका लागिबाहेक कसको भूमिका के हुने भन्नेबारे सहमति हुनसकेको छैन ।
केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेम्जोङले जारी बैठकले पदीय जिम्मेवारी तथा संरचनाको निर्देशिका तयार पारेर समायोजनको काम अगाडि बढाउने जानकारी दिनुभयो ।
पार्टीभित्र आवश्यकतानुसार वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद तय गरिएको छ । तर, कति–कति संख्या राख्ने भन्ने विषयमा सहमति बन्नसकेको छैन ।
तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४३१ केन्द्रीय सदस्य थिए भने तत्कालीन राजपामा पदाधिकारीको संख्या नै १३५ र झन्डै ८०० जनाको केन्द्रीय समिति थियो ।
शीर्ष तहका यति धेरै नेताहरुको व्यवस्थापन गर्न सकेमात्र समायोजन र व्यवस्थापन सहज हुने नेताहरुको बुझाइ छ ।
जसपा नेता डा. शिवजी यादवले पार्टी एकता बलियो हुनेगरी व्यवस्थापन र समायोजन हुनुपर्ने जिकिर गर्नुभयो ।
आगामी निर्वाचनमा जसपालाई मुलुकको वैकल्पिक शक्ति बनाउने अठोट लिएर दुई पार्टी एकता भएपनि पार्टीको संगठनात्मक संरचना र पदीय जिम्मेवारी बाँडफाँटसमेत हुनसकेको छैन ।
यसले राजनीतिक मुद्दा लिएर सडकमा जाने, पार्टी संगठन सबलीकरण र सडक संघर्षबाट आगामी दुई वर्षसम्म जनताको विश्वास जित्ने जसपाका नेताहरुको अठोटमा सुरुआती धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्