
यज्ञराज पाण्डे र दिलिप पोखरेल (इमेज)
काठमाडौं, साउन २१ । पछिल्ला काम–कारबाहीका कारण न्यायालयमाथि विभिन्न प्रश्न उठ्ने गरेका छन् ।
न्यायपालिकाका विकृति र विसंगतिविरुद्ध खरो उत्रिनुपर्ने कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन मूकदर्शक भइदिँदा केही न्यायकर्मीहरुनै व्यथिति र विसंगतिविरुद्ध जुर्मुराएका छन् ।
पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशलाई महाअभियोगको त्रास देखाइ राजनीतिक लाभका लागि बालुवाटारले खेल्ने सम्भावना औंल्याउँदै वरिष्ठ अधिवक्ताहरु गत शुक्रबार र बुधबार बानेश्वरको अर्याल होटलमा भेला भए ।
न्यायाधीशका गलत नियत र फैसलामा धावा बोल्नुपर्ने नेपाल बार एसोसिएसनका पदाधिकारीहरु मूकदर्शक भएपछि बारकै पूर्वअध्यक्ष र वरिष्ठ अधिवक्ताहरुले बारलाई खबरदारी गर्न भेला भएका हुन् ।
राजनीतिक पगरीमा निर्वाचन लडेका बारका पदाधिकारीहरु आमजनमानसलेसमेत न्यायालयमा त्रुटि भयो भन्दै सडकमा उत्रेपनि मूकदर्शक हुनुले बारका पदाधिकारीहरुसमेत स्वार्थमा चुर्लुम्मै डुब्दा यसले न्यायालयलाई नै धरापमा पार्ने निष्कर्षसहित केही वरिष्ठ अधिवक्ता र बारका पूर्वनेतृत्वकर्ताहरुले खबरदारी गरेका छन् ।
सरकारका अनियमितता र असंवैधानिक कदमहरुकोसमेत सही–गलत छुट्ट्याइ निर्णय गर्ने काम न्यायालयको हो ।
तर, न्यायालयले गर्ने त्रुटिले न्यायाधीशलाई कमजोर त बनाउँछ नै राजनीतिक शक्तिहरुका अनियमिततामाथि प्रश्न गर्ने ल्याकतसमेत न्यायाधीशले गुमाउँछन् ।
न्यायाधीशका कमजोरीको नाफा कार्यपालिकलाले लिने र न्यायाधीश आफू कार्यपालिकाबाट नियमन हुने अवस्था स्वयं न्यायाधीशले सृजना गर्ने हुँदा यसको विरोध गरी स्वतन्त्र न्यायपालिकाको पहरेदार बार हुनुपर्ने हो ।
तर, फैसलामा त्रुटि गर्ने संस्थापन पक्षका न्यायाधीशकै पक्षमा टाँसिने बारका अधिकारीहरु अनेकन स्वार्थले गिजोलिँदा यसको भूमिकामै प्रश्न खडा भएको छ ।
मुलुकमा भएका प्रजातान्त्रिक जनआन्दोलनहरुमा नागरिकको अधिकार रक्षा र न्यायालयको स्वतन्त्रताका लागि बारले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
तर, बदलिँदो अवस्था र परिवेशमा नेपाल बार न्यायालयका व्यथितिमाथि मूकदर्शक भइदिँदा न्यायालयका विकृति र विसंगतिविरुद्धको आवाज कसले उठाउने ?
प्रतिक्रिया दिनुहोस्