१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रदेश २ का मन्त्री यादवलाई कोरोना पुष्टि, बालुवाटारमा विशिष्टहरुलाई भेटेको तथ्य खुल्यो


0
Shares

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उहाँको स्वास्थ्य सामान्य छ।

कोरोना पुष्टि भएका यादवले पछिल्लो एक हप्तामा बालुवाटारसम्म पुगेर उच्च पदस्थ ब्यक्तिलाई भेटेको खुलेको छ ।

मन्त्री यादवका चालक, व्यक्तिगत सुरक्षा गार्ड, अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि संक्रमण पुष्टि भएको बुझिएको छ ।

बालुवाटारसम्म पुगेर उच्च स्तरीय ब्यक्तिहरुसँग भेटेको खुलेपछि प्रधानमन्त्री निवासमा सतर्कता अपनाइएको छ ।

मन्त्री यादव बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सहभागी हुनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा थियो ।

मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्कनुभएको थियो । काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको हो । उहाँले धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।