
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ४६ जना कोरोना संक्रमितको आइसीयुकक्षमा उपचार भइरहेको छ भने चारजना भेन्टिलेटरमा छन् ।
संक्रमितहरु दिनहुँ थपिनेक्रममा रहेकाले आइसीयुमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्नसक्ने देखिएको छ ।
तर, सरकारले आइसीयुकक्षमा राखिएका बिरामीलाई कसरी उपचार गर्ने ? कुन–कुन औषधि आवश्यक पर्छ भन्ने आवश्यक तयारी भने गरेको छैन ।
कोरोना संक्रमणका कारण स्वास्थ्यमा थप समस्या भइ आइसीयुकक्षमा राखिने बिरामीका लागि रेमडिसिभर नामक औषधि प्रयोगमा ल्याउने गरिएको छ ।
अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको यस औषधि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोरोना संक्रमितमा प्रयोग गर्न स्वीकृतिसमेत दिएको छ ।
विभिन्न देशमा भएको ‘क्लिनिक ट्रायल’ले भने रेमडिसिभरले आइसीयुमा रहेका बिरामीको स्वाथ्यमा केही सुधार ल्याएपनि पूर्णरुपमा निको भने नहुने देखाएको थियो ।
सोअनुसार धेरै देशले यो औषधि जटिल स्वास्थ्य अवस्था भएका व्यक्तिहरुमा प्रयोगमा ल्याउने गरेका छन् ।
रेमडिसिभर औषधि विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीको उपचारमा समेत प्रयोग ल्याइएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएको डा. कार्कीलाई स्वास्थ्यमा समस्या भएपछि कार्कीको आफ्नै खर्चमा भारतबाट औषधि ल्याएर उपचार गरियो । त्यसपछि उहाँको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
आइसीयुमा रहेका केही संक्रमितमा यस औषधि प्रयोग गरेको भए उनीहरुलाई बचाउनसक्ने सम्भावना रहेको चिकित्सकहरुले जनाएका थिए ।
तर, यस औषधि ल्याउनेतर्फ भने स्वास्थ्य मन्त्रालयले कुनै तयारी गरेको छैन ।
स्वास्थ्य मन्त्रालयकाअनुसार संक्रमणका कारण स्वास्थ्य समस्या भइ आइसीयुमा रहेका बिरामीलाई थप उपचारको आवश्यकता पर्छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले कोरोनाभाइरसको औषधि नभएकाले आइसीयुमा रहेका बिरामीको लक्षण हेरेर उपचार गर्ने गरिएको बताउनुभयो ।
विश्वमा परीक्षण भइरहेका औषधि कुन प्रयोग गर्ने भन्नेमा छलफल भएको भन्दै उहाँले आइसीयुमा कुन औषधि प्रयोग गर्ने र के–के ल्याउने भनेर छलफल चलाएको बताउनुभयो । तर, त्यसमा कुनै निर्णय भने भएको छैन ।
हालसम्म प्रदेश नम्बर–२ र वाग्मती प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित आइसीयुमा रहेका छन् । लक्षणसहितका भेन्टिलेटर र आइसीयुमा राख्नुपर्ने बिरामीको संख्यासमेत बढेको छ ।
मन्त्रालयले संक्रमण ‘पोजिटिभ’ देखिएका व्यक्तिलाई अस्पतालमा शय्या अभावका कारण घरमा राख्न थालेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले पछिल्लो समय लक्षणसहितका संक्रमित, आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने व्यक्तिहरुको संख्यासमेत बढेको बताउनुभयो ।
मन्त्रालयले देशभर १७ सय आइसीयु र ९०० भेन्टिलेटर छुट्ट्याएको छ । काठमाडौं उपत्यकासहित देशभर बढ्दै गएका संक्रमितका कारण केही जिल्ला थप जोखिममा रहेका छन् ।
आइसीयु र भेन्टिलेटरमा उपचार गराउनुपर्ने बिरामीका लागि आवश्यक पर्ने औषधि ल्याउने तयारी गर्न भने सरकारले चासो नदिँदा यसले झन् खतरा बढ्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्