
अनिल तिवारी (इमेज)
वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ ।
समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने त हैन भन्ने आशंका बढ्दै गएको छ ।
तीन महिना लामो ‘लकडाउन’पछि सहज बन्दै गएको वीरगन्जको जनजीवन अहिले झनै भयावह बन्दै गएको छ ।
१२ दिनदेखि लगाइएको निषेधाज्ञा पनि कोरोनाको संक्रमण न्यूनीकणमा खासै राहत ल्याउनसकेको छैन । संक्रमणको भयावह अवस्थासँगै बढेको मृत्युदरले महानगरबासीलाई भयभीत बनाएको छ ।
सूर्य नउदाउँदै राति अबेरसम्म सवारी–साधनको चर्को हर्न सुनिने सहरको बीचभागमा रहेको त्रिभुवन राजमार्ग अहिले चकमन्न छ ।
लक्षणसहितका कोरोनाभाइरस संक्रमित बढ्नेक्रम तीव्र भएपछि वीरगन्जमा सन्नाटा छाएको छ ।
संक्रमणको दर तीव्ररुपमा बढ्दै गएकोले अवस्था विकराल बन्दै गएको नारायणी अस्पतालका डा. निरजकुमार सिंहको अड्कल छ ।
साउनयता पर्सामा ६०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
संघीय सांसद प्रदीप यादवदेखि वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीलगायत वीरगन्ज नगरपालिकाका कर्मचारी, प्रहरी, सेना स्वास्थ्यकर्मी, कारागारका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि वीरगन्जमा कोरोनाको कहर बढेको हो ।
तर। केन्द्रीय र प्रदेश सरकार अझैपनि सत्ताको रनभूलमा परिरहेको छ ।
स्थानीय सरकार आफैं संक्रमित भएपछि आउने दिन कहालीलाग्दो अवस्थामा प्रवेश गरेको आँकलन वीरगन्जबासीले गरेका छन् ।
वीरगन्जमा छोटो समयमै १५ जनाको मृत्यु भइसक्दा पनि सरकारको चेत खुल्नसकेको छैन ।
सीमानाका बन्द भएपनि लुकीछिपी वीरगन्ज–रक्सौल आवत–जावत गर्ने गरेका कारण अवस्था चिन्ताजनक बनेको छ ।
अझैपनि सरकारले समयमै कडा कदम नचाल्ने र कानमा तेल हालेर हाइसन्चो मान्ने हो भने वीरगन्जको अवस्था जटिल हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्