१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपाको अस्तित्व संकटमा, आकर्षण घट्दो


0
Shares

politics

रोमन आचार्य र भरत केसी (इमेज)

काठमाडौं, साउन २२ । दल त्याग गर्ने परम्परा राजनीतिमा नौलो विषय होइन । तर, सिंगो जिल्ला नै पार्टीविहीन बनेर अर्को पार्टी प्रवेश गर्दा दलको अस्तित्वमा प्रश्न उठ्नु गम्भीर विषय हो ।

पञ्चहरुको ‘ट्याग’ मेट्न नसकेको राप्रपा अहिले यही अवस्थामा पुगेको छ ।

सनातन हिन्दुधर्म र राजसंस्थाको मूख्य एजेन्डा बोकेपनि सत्ताका लागि एजेन्डालाई मिल्काउँदा राप्रपामा कार्यकर्ताको आकर्षण घट्दो छ ।

अध्यक्षत्रयको चंगुलमा पार्टी फस्दा युवा र दोस्रो पुस्तामा पार्टीप्रति आकर्षण छैन ।

बाबु सूर्यबहादुर थापाको विरासत धान्न राजनीतिमा होमिनुभएका राप्रपाका तत्कालीन महामन्त्री सुनीलबहादुर थापा साउन १३ गते पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो ।

पार्टीको नीति, सिद्धान्त तथा योजनाहरु समयसापेक्ष परिमार्जन गर्नुपर्ने पक्षमा रहनुभएका पूर्वमहामन्त्री थापामात्र कांग्रेसमा प्रवेश गर्नुभएन, केन्द्रीय समितिका ३१ जना र देशभरबाट धेरै संख्यामा पार्टी छोड्ने लहड नै चल्यो ।

थापानिकट नेता वृजलाल यादवको अभिव्यक्तिले राप्रपा राजनीतिक दलहरुको बीचमा विकल्पविहीन पार्टी बन्दै गएको बुझ्न समस्या छैन ।

केही महिनाअघि तीन फरक ध्रुवमा उभिनुभएका कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी एकै कित्तामा उभिएर राप्रपा एउटा पार्टी बनाएपनि पार्टीभित्रको तिक्तता कमी भएको छैन ।

स्थापना नै दुई ध्रुवबाट उदाएका पार्टी पुस्तानान्तरणको अभावमा रसविहीन भएको छ ।

एजेन्डा मिल्काएर कुर्सी लोभमा लिप्त हुनु राप्रपाको गम्भीर गल्ती हो । सनातन हिन्दुधर्म र राजतन्त्रको एजेन्डा बोक्ने तर धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको संविधानलाई स्वीकार गरेर सत्ताको छिनाझपटीमा लाग्नु नै पार्टीको अघोगति भएको राप्रपाका संस्थापक नेता केशरबहादुर विष्टको ठहर छ ।

इतिहास हेर्दा राप्रपा छओटाभन्दा बढी चिरामा विभाजित भएकै हो । तर, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भएपनि जनताले राप्रपाका १९ जनासम्म नेताहरुलाई मन्त्री बन्ने अवसर दिएकै हुन् ।

तर, विडम्बना वैकल्पिक शक्ति बन्नुपर्ने दल अहिले एक सिटमा खुम्चिएको छ ।

जनताको आँखामा छारो हाल्न एजेन्डा देखाउने तर कुर्सी देखेपछि पार्टी फोर्न र आफ्नो सिद्धान्तलाई उपेक्षा गर्न पछि नपर्ने शीर्षस्थ नेतृत्वको प्रवृत्तिले राप्रपामा नागरिकको आकर्षण घटेको छ ।

परिवर्तन भएको राज्यसंरचनामा पनि दोहोर्‍याएर मन्त्रालय सम्हालेका नेताहरुले आफ्नोमात्र कुर्सी सुरक्षित गर्दा संगठन विस्तार र दोस्रो पुस्तामा नेतृत्व नपुग्ने तथा युवाहरुमा आकर्षण कम भएको कतिपयको बुझाइ छ ।

भिडियो हेर्नुहोस्