
काठमाडौं, साउन २२ । राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि चारजनाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
संसद सचिवालयकाअनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापतिका लागि बिहीबार उम्मेदवारी दर्ता भएको हो ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको समयभित्र चारजनालेमात्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सचिवालयले शुक्रबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिको सभापति पदमा एकजनाकोमात्रै उम्मेदवारी परे सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
एकभन्दा बढी उम्मेदवारी दर्ता भए निर्वाचन प्रक्रियाबाट सभापति चयन गरिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्