२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाममा बर्षेनी पहिरो जाँदा सिंगो बस्ती नै जोखिममा, सयौै रोपनी खेतीयोग्य जमिन कटान


0
Shares

सुरेन्द्र भण्डारी, ईमेज
झापा । झापाको उत्तरी भू–भागसँग सिमाना जोडिएको इलामको तल्लो भागमा वर्षेनी पहिरो खस्ने समस्याका कारण यहाँका सर्वसाधारण त्रसित छन् ।

इलामको रोङ गाउँपालिका–४ प्यूरेमा वर्षेनी पहिरो जाँदा अहिले सिंगो बस्ती नै जोखममा परेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाको सिमानामा रहेको टिमाइ खोलाले वर्षेनी किनार कटान गर्दा रोङ गाउँपालिका–४ प्यूरेमा पहिरो जाने गरेको छ ।

पहिरोका कारण त्यस क्षेत्रमा विस्थापित हुनेको संख्या वर्षेनी बढीरहेको छ । २०७३ साल यता गएको पहिरोले सिंगो बस्ती नै जोखिममा परेको छ भने प्यूरेका १३ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण गाउँका अधिकाशं घर र बारी भास्सिएका छन् भने सयौं रोपनी खेतीयोग्य जमिन नदी कटानमा परेको छ ।

पानी पर्न थालेसँगै पहिरो जाने र घर भासिएपछि बिचल्ली हुनेको संख्या बढ्दै गएको छ । इलामको तल्लो भाग अर्थात चुरे क्षेत्रका बासिन्दा वर्षेनी पहिरोको चपेटामा छन् ।

वर्षायाम सुरु भएसँगै पहिरो जाँदा मानवीय क्षतिका साथै गाँउ नै विस्थापित हुने अवस्था सृजना भएको इलामका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने बताउनुहुन्छ ।

यता पहिरो प्रभावित क्षेत्र प्यूरेलाई जोगाउन पहिरो जाने क्षेत्रमा पानी बगेर आउने ठाउँलाई बन्द गर्नुपर्ने जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय इलामका इन्जिनियर पुरुषोत्तम साहको भनाइ छ ।

इलामको तल्लो क्षेत्र मात्र नभइ पूर्वी पहाडी जिल्लामा पनि यस्ता प्राकृतिक विपत्तिका कारण वर्षेनी हजारौं परिवार प्रभावित हुँदैं आएका छन् ।

समस्या समाधानका लागि प्राविधिक अध्ययन गर्न सके यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।