
कैलाली, साउन २३ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्थानीय तहका ‘आइसोलेसन’बाट थप २७१ कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।
कोरोनामुक्त भएर कैलालीका २३५, डडेल्धुराका २१, कञ्चनपुरका १२ र बैतडीका तीनजनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या तीन हजार ६६२ पुगेको छ ।
सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अरु संक्रमित भने स्थानीय तहको आइसोलेसन तथा आफ्नै घरमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जम्मा संक्रमितको संख्या चार हजार ९०७ पुगेको छ । हालसम्म नौ संक्रमितको मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्