१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सवारी–साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेनन्


0
Shares

corona

काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी–साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ ।

‘लकडाउन’ खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरी सञ्चालन गरेका छन् ।

यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी–साधनले स्वास्थ्यको न्यूनतम् मापदण्ड पनि पालना नगरेको पाइएको हो ।

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दूरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको अनुगमन टोलीले जनाएको छ ।

सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिँदा समुदायस्तरसम्म कोरोनाभाइरस संक्रमण फैलिने त्रास बढेको छ ।

विभागले गरेको चेकजाँचको क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए ।

कतिपय सवारी–साधनले सिट क्षमताभन्दा पनि बढी यात्रु राखेको पाइएको छ । त्यस्तै, यात्रुले मास्कको प्रयोग नगरेकोसमेत पाइएको छ ।

विभागले भने सेनिटाइजर नराख्ने सवारी–साधनलाई समान्य चिट काटेर कारबाही गरेको छ ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यकाभित्र छोटो दूरीको सवारी–साधन सञ्चालन गर्न दिएको थियो ।