
काठमाडौं, साउन २३ । हात्तीको दाह्रासहित प्रहरीले शुक्रबार काठमाडौंको सुकेधाराबाट तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर घर भइ काठमाडौं, कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भइ सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भइ काठमाडौं, सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शुक्रबार दिउँसो १ः३० बजे काठमाडौं महानगरपालिका–४, सुकेधारामा हात्तीको दाह्राको खरिद–बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट १० इन्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्