
संखुवासभा, साउन २४ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले संखुवासभाको पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको छ ।
उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको स्थानीय सुरक्षाकर्मीबाट खोजी भइरहेको जानकारी दिनुभयो ।
जिल्लामा गएको पहिरोमा परी १३८ घर विस्थापित भएको र सबैलाई पहिरोको जोखिम कम भएको क्षेत्रमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।
लगातारको वर्षाको कारण बाढी र पहिरोको जोखिम भइरहेकाले तीनओटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
बाढी र पहिरोबाट धनजनको क्षति कम गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत् काम भइरहेको उहाँको भनाइ थियो ।
उहाँले पीडितहरुलाई राहत र पहिरो गएको ठाउँमा थप क्षति हुन नदिन तारजालीको व्यवस्थापन गरिएको बताउनुभयो ।
अहिले बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम स्थानीय निकायमार्फत् भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्