
काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उहाँको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।
यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी हुनुभएको थियो ।
त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उहाँको ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो ।
परीक्षणमा गृहमन्त्री थापा, उहाँका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको भट्टराईले जानकारी दिनुभयो ।
यसअघि, प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्