
नेपालगन्ज, साउन २४ । बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका ‘सिल’ गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अतिजोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।
प्रजिअ कुरुम्वाङ्गको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नेपालगन्जको गणेशमानचोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङरोड, नहरपुरवा हुँदै बसपार्क र पुष्पलालचोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।
सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहनबाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिँड्डुलमा समेत रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, केन्द्रको बैठकले यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।
सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्