१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलम्पिकका लागि अभ्यास


0
Shares

काठमाडौं, साउन २४ । कोरोना माहामारी नभएको भए यतिबेला छनोट भएका पौडी–२, एथ्लेटिक्स–१ तथा ‘वाइल्ड कार्ड’ पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक–२०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे । तर, अहिले अवस्था फरक छ ।

पदक लक्ष्यका साथ नेपाली खेलाडी एक वर्षपछि सरेको ओलम्पिकका लागि महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

विश्व ओलम्पिकमा सहभागिता जनाउनका लागि कुनैपनि खेलाडीका लागि तीन माध्यम छन् । छनोट पार गर्ने, अनिवार्य सहभागी हुनुपर्ने र वाइल्ड कार्डमार्फत् सहभागिता जनाउन पाउने प्रावधान छ ।

छनोटमा असफल भएपनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम वाइल्ड कार्ड हो । नेपालले छनोट चरण पार गर्न निकै कठिन छ । वाइल्ड कार्ड नेपालको सहभागिताको बाटो हो ।

नेपालबाट सात खेलका १२ खेलाडीको नाम वाइल्ड कार्डका लागि सिफारिस गरिएको छ । वाइल्ड कार्डबाट प्रवेश गर्ने लक्ष्यसहित धकेलिएको समयलाई सदुपयोग गर्ने खेलाडीहरु बताउँछन् ।

अनिवार्य सहभागी हुनुपर्ने पौडीबाट संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण, दुई रजत र तीन कास्यपदक जितेकी गौरिका सिंह र पुरुषततर्फ उत्कृष्ट प्रदर्शन गरेका एलेक्स गाडेगार्ड शाहको नाम अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई पठाइसकेको छ ।

१९६४ को टोकियो संस्करणदेखि गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरेको नेपालले १३ संस्करणमा सहभागिता जनाइसकेको छ । नेपालबाट एउटा संस्करणमा १६ जनासम्म खेलाडीले सहभागिता जनाएका छन् ।

अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा संगीना वैद्य र दीपक विष्टलेमात्र खेलेका छन् ।

ओलम्पिकमा छनोट चरणको प्रावधान लागू भएसँगै वाइल्ड कार्डको माध्यम नै नेपाली खेलाडीको औपचारिक सहभागिता हो ।