१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना नियन्त्रणमा विपक्षी दलहरुको भूमिकामाथि पनि प्रश्न


0
Shares

politics nepali congress

काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाब दिनबाहेक विपक्षी दलहरुले जनस्तरमा प्रभाव पार्ने ढंगले रचनात्मक काम गर्न सकेका छैनन् ।

केही युवाहरु शतप्रतिशत ‘पीसीआर’ परीक्षण गर्नुपर्ने, ‘क्वारेन्टिन’ व्यवस्थापन गर्नुपर्ने माग राख्दै अनशनमा समेत बसेका छन् ।

यद्यपि, विपक्षी दलहरुले सरकारलाई दबाब दिनबाहेक क्वारेन्टिन व्यवस्थापन, राहत वितरण र उद्धारका काममा आफ्ना नेता–कार्यकर्ताहरुलाई परिचालन गर्न सकेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुआती दिनमा सञ्चारमाध्यममार्फत् कोरोना संक्रमणबाट जोगिनका लागि जनचेतनामूलक सन्देश जारी गरेपनि ठोस र सशक्त कदम भने चाल्न सकेको छैन ।

तर, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले आफ्नो ठाउँबाट आवश्यक पहल र सरकारलाई सहयोग गरिरहेको दाबी गर्नुभयो ।

उहाँले जनतालाई सुसूचित गर्न कार्यकर्ता परिचालन गरिएको, स्वास्थ्य सामग्री वितरण गरेको, पार्टीको तर्फबाट सरकारको खातामा ५० लाख रुपैयाँ नगद जम्मा गरेको बताउनुभयो ।

केही समयअघिमात्रै पार्टी एकता भएको जनता समाजवादी पार्टी (जसपा)लेसमेत सरकारलाई नैतिकरुपमा दबाब दिनबाहेक केही काम गर्न सकेको छैन ।

जसपाका कार्यकारिणी सदस्य केशव झाले वडास्तरसम्म नेता–कार्यकर्ता परिचालन गरी सूचना प्रवाह, राहत वितरणका काम पार्टीले गरेको दाबी गर्नुभयो ।

‘लकडाउन’ सुरु हुनुभन्दा करिब दुई हप्ताअगाडिमात्रै पार्टी एकता गरेर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था पनि त्यस्तै छ ।

फागुन २८ मा पार्टी एकता गरेको राप्रपाले एकतालाई पूर्णता दिन नपाउँदै लकडाउन सुरु भयो । लकडाउनको समयमा पनि सरकारलाई पटक–पटक दबाब दिने काम पार्टीका अध्यक्षहरुले गरेको राप्रपा नेता मोहन श्रेष्ठले दाबी गर्नुभयो ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा ‘कन्टयाक ट्रेसिङ’मा समस्या देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनशक्ति अभावमा समयमा कन्टयाक ट्रेसिङ गर्न नसक्दा संक्रमितहरु खुलेयाम हिँडिरहेका छन् ।

यस्तो अवस्थामा विपक्षी दलहरुले आफ्ना कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा कन्ट्याक ट्रेसिङमा सहयोग गर्नसक्ने देखिन्छ । तर, यसतर्फ कुनैपनि दलले अहिलेसम्म चासो देखाएका छैनन् ।

भिडियो हेर्नुहोस्